स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

काठमाडौँ। आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक शृंखला अन्तर्गत आजको खेलमा नेपालले जितका लागि २४४ रनको मध्यम लक्ष्य पाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको हो।

नेपालका तर्फबाट स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले आफ्नो स्पेलको १० ओभरमा ४१ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए। सन्दीपले आक्रामक रूपमा खेलिरहेका स्कटल्यान्डका ओपनर जर्ज मुन्सेलाई ७५ रनमा आउट गर्दै नेपाललाई ठूलो सफलता दिलाएका थिए। लगत्तै अर्का ओपनर फिन्ले म्याकक्रेथ (३५ रन), ब्रान्डोन म्यकमुलेन (७ रन) र कप्तान रिची बेरिङटोन (५ रन) लाई पेभेलियनको बाटो देखाउँदै उनले स्कटिस ब्याटिङ लाइनलाई दबाबमा राखे।

सन्दीप बाहेक नन्दन यादव र करण केसीले पनि कसिलो बलिङ गरे। आफ्नो डेब्यु जस्तै लयमा देखिएका नन्दनले अन्तिम ओभरमा दुई विकेट लिँदै ८ ओभरमा ३३ रन मात्र खर्चिए। त्यस्तै, अनुभवी बलर करण केसीले पनि ८ ओभरमा ५१ रन दिँदै २ विकेट आफ्नो नाममा गरे।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सेले ७५ रनको योगदान दिए भने माइकल इलिंस ३४ रनमा अविजित रहे। अन्य ब्याटरहरू माइकल लिस्क (२९ रन), मार्क वाट (२४ रन) र म्याथु क्रस (१८ रन) मा समेटिए।

बलिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अब केही बेरमा २४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ। घरेलु मैदान र समर्थकको साथमा नेपाल सुखद नतिजा निकाल्ने दाउमा छ।