प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङको चौतर्फी बिरोध भइरहेको छ । गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

गृहमन्त्री गुरूङको अनुसन्धानको दायरामा रहेका भट्ट र शंकर समूहको लगानी रहेको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा लगानी रहेको कागजातसमेत सार्वजनिक भएको छ ।

गत २९ चैतमा सार्वजनिक भएको मन्त्री गुरुङको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा भएको लगानी खुलाइएको छैन । गुरुङले जेन–जी आन्दोलनपछि र मन्त्री बन्नुअघि पनि धितोपत्रको दोस्रो बजारबाट पनि सेयर खरिद गरेको विवरण पनि सार्वजनिक भएको छ । त्यसबारे पनि गुरुङको सम्पत्ति विवरणमा उल्लेख छैन ।