तनहुँ–१ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र हस्तान्तरण

दमौली,तनहुँ।

तनहुँ क्षेत्र नम्बर  १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरसहित निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला सभा हलमा आयोजित समारोहका बीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विष्णुप्रसाद उपाध्यायले डा. वाग्लेलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत उपाध्यायले निर्वाचन प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उपाध्यायले जनताको मतबाट निर्वाचित जनप्रतिनिधिले लोकतान्त्रिक मूल्य मान्यता र जनभावनालाई सम्मान गर्दै काम गर्ने विश्वास व्यक्त गरे। साथै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरे।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै डा. स्वर्णिम वाग्लेले यो जित आफ्नो मात्र नभई परिवर्तन र सुशासन चाहने सम्पूर्ण तनहुँबासीको भएको बताए। वाग्लेले आफूलाई २१ हजार ८०९ मतको फराकिलो अन्तरले विजयी गराउने मतदाताप्रति आभार व्यक्त गर्दै जनविश्वासलाई विकास र समृद्धिको यात्रामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।

अन्तिम मत परिणामअनुसार डा. वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपाने तेस्रो स्थानमा रहनुभएको छ । कुल १ लाख २६ हजार ८८२ मतदाता रहेको यस क्षेत्रमा ५३.६९ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

लन्डन स्कुल अफ इकोनोमिक्स, हार्वर्ड विश्वविद्यालय र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गर्नुभएका डा. वाग्ले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया–प्रशान्त क्षेत्रीय आर्थिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका

अनुभवी व्यक्तित्व रेहेका छन्।