दमौली, तनहुँ ।
तनहुँको देवघाट गाउँपालिका–४ स्थित रिस्ती खोला नजिकैबाट प्रहरीले दुई थान अवैध भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय पूर्णबहादुर गुरुङ र २४ वर्षीय अर्जुन गुरुङ रहेका छन्।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको नियमित गस्ती टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा बारुद भरिएको एक नाले दुई थान भरुवा बन्दुक फेला पारेको थियो। प्रहरीका अनुसार उनीहरूको साथबाट १३ ग्राम ५०० मिलीग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ र फलामका टुक्राहरू समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले अवैध हतियार नियन्त्रण गर्ने अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।
“हाम्रो गस्ती टोलीले ग्रामीण भेगमा सुरक्षा निगरानी बढाउने क्रममा हतियारसहित उनीहरूलाई फेला पारेको हो,’’ सूचना अधिकारी विकले भन्नुभयो, “अवैध हतियार राख्नु कानुनतः दण्डनीय अपराध भएकाले उनीहरूमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको छ ।’’
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

उथल पुथल 









