दमौली,तनहुँ।
तनहुँको व्यास नगरपालिकाका युवा समाजसेवी अविनाश पन्थले सानो उमेरमै सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएका छन्। व्यास नगरपालिका वडा नं. १२ स्थित श्री मत्स्यकन्या आधारभूत विद्यालयको ४६औँ वार्षिक उत्सवको अवसरमा आइतबार उनलाई विशेष सम्मान गरिएको हो। बालबालिकाको शिक्षा र जीवनस्तर सुधारमा निरन्तर सक्रिय रहँदै आएका पन्थले समाज परिवर्तनका लागि उमेर नभई सोच र समर्पण आवश्यक हुने सन्देश प्रवाह गर्दै आएका छन्।
पन्थले गत वर्ष र यस वर्ष विभिन्न सामाजिक अभियान सञ्चालन गरी व्यास नगरपालिकाभित्रका १८ वटा विद्यालयमा पुगेर विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन्। उनले विद्यालयको आवश्यकताअनुसार विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई स्विटर, झोला र जुत्ता वितरण गर्दै आएका छन्। उनको यो पहलले विशेष गरी ग्रामीण भेगका बालबालिकाहरूलाई विद्यालय जान थप उत्साहित बनाएको छ।
वार्षिक उत्सव समारोहमा पन्थको कार्यले युवा पुस्तामा सामाजिक उत्तरदायित्वको भावना जागृत गराएको भन्दै प्रशंसा गरिएको थियो। सम्मानित भएपछि पन्थले आगामी दिनमा पनि शिक्षा र सामाजिक सेवाका क्षेत्रमा आफ्नो सक्रियतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

सुशील लामगादे बि.क. 









