सांस्कृतिक विविधताको सङ्गम: छैटौँ आदिवासी जनजाति महोत्सव

दमौली, तनहुँ।

पहिचानको संरक्षण र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित बिहीबारदेखि दमौलीमा ‘छैटौँ तनहुँ आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव’ भव्य रूपमा सुरु भएको छ। नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति तनहुँको आयोजनामा व्यास–३ स्थित अनसनचौतारीमा सुरु भएको यो महोत्सवले जिल्लाको बहुरङ्गी संस्कृतिलाई एउटै मञ्चमा सजाएको छ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आदिवासी जनजातिको भाषा र संस्कृति नेपालको अमूल्य सम्पदा भएको बताए।गुरुङ्गले यस्ता महोत्सवले सांस्कृतिक वैभव जोगाउँदै पर्यटनमार्फत आर्थिक विकासमा टेवा पुर्‍याउने उल्लेख गरे।

विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले जातीय सहअस्तित्व र राष्ट्रिय एकतालाई बलियो बनाउन महोत्सव सफल हुने विश्वास व्यक्त गरे। त्यस्तै, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दमौलीलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाउने योजना सुनाए। प्रमुख न्यौपानेले अबदेखि यस्ता ठूला कार्यक्रमहरू व्यवस्थित रूपमा सञ्चालन गर्न व्यास–४ स्थित मादी नदी किनारमा प्रदर्शनी स्थल निर्माणको कार्य अघि बढाइएको महत्वपूर्ण जानकारी दिए।

महोत्सवमा दुरा, कुसुण्डा, बोटे, दरै, चेपाङ, मगर, गुरुङ, नेवार, कुमाल, तामाङ र भुजेल लगायतका समुदायका मौलिक नृत्य, भजन र चुड्का प्रस्तुत गरिएका छन्। महोत्सवका निर्देशक सूजित हिराचनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे थिए भने राष्ट्रिय कलाकार मधु थापा मगर लगायतको प्रस्तुतिले दर्शकलाई निकै उत्साहित बनाएको थियो।

महोत्सव मूल समारोह समितिका संयोजक सनम तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सहसंयोजक सिद्धान्त थापा मगरले स्वागत, पूर्व अध्यक्ष वसुन्धरा घर्तीले धन्यवाद र प्रवक्ता जीवन गुरुङले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। माघ ५ गतेसम्म चल्ने यस उत्सवमा जातीय झाँकी, परम्परागत भेषभूषा र हस्तकलाको विशेष प्रदर्शनी रहनेछ।