मादी पुलको काम तीव्र गतिमा भएकोमा मन्त्री घिसिङ खुसी :चाँडै सक्न निर्देशन

दमौली,तनहुँ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आज तनहुँको दमौलीमा निर्माणाधीन मादी नदीमाथिको चारलेनको आर्क डिजाइन पुलको निरीक्षण गर्नुभएको छ ।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेको उक्त पुलको काममा भएको तीव्र प्रगति देखेर मन्त्री घिसिङले खुसी व्यक्त गर्दै निर्माण कार्यलाई थप गति दिन निर्देशन दिनुभएको छ । व्यास नगरपालिका–४ र ५ लाई जोड्ने यो पुलको निर्माण कार्यको निरीक्षणपश्चात् मन्त्री घिसिङले निर्धारित समयमा सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे।
यसै आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य  मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार ३१५ मिटर लामो चारलेनको यो पुल चालु आर्थिक वर्ष २०८२/८३ भित्रै सम्पन्न हुने लक्ष्य राखिएको छ। हालसम्म पुलको करिब ७४ प्रतिशत काम सम्पन्न भइसकेको छ र बाँकी काम तीव्र गतिमा अघि बढिरहेको छ ।

नेपालमै पहिलो पटक ‘आर्क डिजाइन’ मा चार लेनको बन्दै गरेको यो पुल प्राविधिक दृष्टिले मात्रै नभई पर्यटकीय आकर्षणका हिसाबले पनि महत्वपूर्ण रहेको इन्जिनियर पाण्डेले बताए। पुलको निर्माण सन् २०२२ अगस्ट ११ मा करिब रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भई सुरु भएको थियो। पुलमा कुल छ वटा स्पान रहनेछन् । निर्माण कम्पनी जेड आइसष्ट–अन्नक जेभीका साइट इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेले दैनिक एक सय कामदार परिचालन गरी कामलाई द्रुत गति दिइएको जानकारी दिए। हज बनाउनुका साथै पर्यटकीय हिसाबले पनि गण्डकी प्रदेशको महत्त्व बढाउने अपेक्षा गरिएको छ।

आयोजनाको प्रगति
मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्ड (आँबुखैरेनी–जामुने) अन्तर्गत पर्दछ। आयोजनाअनुसार यस खण्डमा हालसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सडक विस्तारको करिब ८८ प्रतिशत काम सकिएको छ । यो खण्डको ४१.४५ किलोमिटर सडकमा कालोपत्र सम्पन्न भइसकेको छ ।
विसं २०७७ माघ १७ गते ठेक्का सम्झौता भई २०७८ वैशाख २ गतेदेखि सुरु भएको पूर्वी खण्डको काम चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले लिएको हो। ठेक्का म्याद असार २९ गते सकिए पनि समग्र सडक विस्तारको केही काम बाँकी रहेकाले आगामी असोज ३० गतेसम्मको लागि म्याद थपिएको आयोजनाले जनाएको छ ।