दमौली,तनहुँ।
इन्जिनियर श्रीराम न्यौपानेको नेतृत्वमा सञ्चालन भइरहेको ‘स्मार्ट बोर्ड शैक्षिक सहकार्य कार्यक्रम’अन्तर्गत तनहुँका १० विद्यालयलाई प्रदान गरिन लागेका स्मार्ट बोर्ड तथा शैक्षिक सामग्रीको हस्तान्तरणपूर्व तालिम मंसिर २३ गते, मंगलबार म्याग्दे गाउँपालिका–७, जामुनेस्थित राधा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रममा ती विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र शिक्षक गरी २७ जनालाई स्मार्ट बोर्डको प्रयोग, सञ्चालन तरिका तथा कक्षाकोठामा यसको प्रभावकारी उपयोगबारे विस्तृत तालिम प्रदान गरिएको थियो।
यसअघि पहिलो चरणमा नै ईन्जिनियर न्यौपानेले तनहुँकै ६ विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराइसकेका छन्। आधुनिक प्रविधिमैत्री शिक्षा अपनाएका विद्यालयहरूले विद्यार्थी सहभागिता, सिकाइको गति र कक्षा व्यवस्थापनमा उल्लेख्य सुधार देखिएको अनुभव सुनाएका छन्। न्यौपानेले यिनै सकारात्मक प्रतिक्रियाले दोस्रो चरणको काम थप ऊर्जा र उत्साहका साथ अघि बढेको बताए।
स्मार्ट बोर्ड प्राप्त गर्न लागेको दोस्रो चरणका विद्यालयका प्रअ तथा अध्यक्षहरू पनि उत्तिकै उत्साहित देखिए। उनीहरूले दुर्गम/ग्रामीण क्षेत्रमा अत्याधुनिक शैक्षिक साधन पु¥याउनु नै ठूलो उपलब्धि भएको उल्लेख गर्दै इन्जिनियर न्यौपानेप्रति आभार व्यक्त गरे।
ऊर्जा तथा जलस्रोत विज्ञ इन्जिनियर न्यौपानेले तनहुँको समग्र शिक्षामा आधुनिक प्रविधि विस्तार आफ्नो दीर्घकालीन भिजन भएको बताए। उनले अगामी पाँच वर्षभित्र तनहुँका सबै कक्षा–१० का कक्षालाई स्मार्ट बोर्डयुक्त बनाउने लक्ष्य रहेको जानकारी दिए।
तालिमपछि इन्जिनियर न्यौपानेले राधा मा.वि. जामुने र गाउँफर्क मा.वि. ढोरफिर्दिमा स्मार्ट बोर्ड तथा शैक्षिक सामग्री हस्तान्तरण पनि गरेका छन्। उनका अनुसार बाँकी ८ विद्यालयमा पनि आगामी दिनमा क्रमशः सामग्री वितरण गरिनेछ ।

उथल पुथल 









