दमौली ,तनहुँ ।
व्यास नगरपालिका कार्यपालिकाको २२७औँ नियमित बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ ।
नगर उप–प्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष तथा प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा विभिन्न शाखा–उपशाखाका प्रमुखहरूको उपस्थिति रहेको बैठकमा हालसम्म नगरपालिकाबाट भएका सेवा प्रवाह तथा निर्णयहरूको विस्तृत समीक्षा गरिएको जनाइएको छ ।
बैठकले आर्थिक वर्ष २०८२÷८३ मा सम्पन्न तथा निर्माणाधीन योजनाहरूको भुक्तानी–प्रक्रियाका लागि स्रोत अभाव भए अन्य आय शीर्षकबाट पछि शोध भर्ना गर्ने गरी भुक्तानी गर्ने तथा सो प्रक्रियालाई आगामी नगरसभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ । त्यस्तै, चालू आवमा छनोट भएका र टेन्डर प्रक्रियामा जानुपर्ने योजनाहरूका लागि पौष ४ गतेभित्र टेन्डर अघि बढाउन कार्यालयलाई निर्देशन दिइएको छ ।
आर्थिक वर्ष २०८२÷८३ को आय–अनुमानलाई यथार्थ परक बनाउँदै आवश्यक संशोधन गर्ने तथा सोअनुसार स्रोत अनुमान र बजेट सीमा निर्धारणको जिम्मा सम्बन्धित समितिलाई दिने निर्णय समेत बैठकले गरेको छ। सोही आधारमा योजनाहरू संशोधन गरी बजेट तथा कार्यक्रम तर्जुमा समितिमार्फत आगामी नगरसभामा पेश गर्ने निर्णय पनि भएको छ। साथै, व्यास नगर आर्थिक कार्यविधि लगायतका विधेयक तथा संशोधन प्रस्तावहरू आगामी नगरसभामा पेश गर्न विधेयक समितिलाई पनि निर्देशन दिइएको छ ।
स्थानीय स्तरमा आउने विभिन्न गुनासोको व्यवस्थापन तथा सुनुवाइका लागि नगर प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय गुनासो व्यवस्थापन समिति गठन गर्ने निर्णय बैठकले गरेको छ। यस्तै, वि.पी. वनवाटिका खेलमैदानमा माग भएको कभर्ड हल निर्माणका विषयमा जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।
भिमादमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका व्यास नगरका विद्यालयहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै पुरस्कृत गर्ने निर्णय भएको छ ।
नेपाल आदिवासी जनजाति जिल्ला समिति तनहुँले आयोजना गर्न लागेको आदिवासी सांस्कृतिक तथा पर्यटन महोत्सव निर्माणाधीन खेल मैदानमा यस पटक मात्र आयोजनाको अनुमति दिइने तथा आगामी वर्षदेखि वैकल्पिक स्थान खोजी गरी मात्र आयोजना गर्न अनुमति दिइने निर्णय गरिएको व्यास नगरपालिका वडा नं. ९ का अध्यक्ष तथा प्रवक्ता शुरेश थापाले बताए ।


उथल पुथल 









