दुलेगौंडा,तनहुँ
नेपाली कम्युनिष्ट पार्टी शुक्लागण्डकीका नेता मनराज गुरुङले पार्टी छाडेको घोषणा गरेका छन् । मंगलबार साँझ साविक नेकपा माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङलाई लेखेको राजीनामा पत्र सार्वजनिक गर्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन् ।

उनले साविक नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् । ‘महान जनयुद्ध, सहिद, बेपत्ता, घाइते तथा गणतन्त्र स्थापनार्थ संघर्ष गर्नुहुने सम्पूर्ण अग्रजहरुप्रति सदैव सम्मान रहनेछ’, उनले राजीनामा पत्रमा लेखेका छन् ।
जेन–जी आन्दोलनपश्चात उनी नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाइरहेका थिए । एकीकृत समाजवादी लगायत दलसँग माओवादीले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेपनि उनी झनै असन्तुष्ट थिए । जेन–जी आन्दोलनको मर्मअनुरुप पार्टीमा नेतृत्व परीवर्तन हुन नसक्नु विडम्बनापूर्ण भएको उनको विश्लेषण छ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गुरुङ शुक्लागण्डकी नगर समितिका निर्वतमान अध्यक्षसमेत हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा शुक्लागण्डकी नगरपालिका–१२ को वडाध्यक्ष निर्वाचित भएका थिए ।
अखिल क्रान्तिकारी इकाइ कमिटी जनप्रेमि मावि फिरफिरेको अध्यक्ष हुदै माओवादी विचारमा आबद्ध भएका उनले २० बर्ष पार्टीमा विताए । साविकको फिरफिरे गाउँ विकास समितिको अध्यक्ष भएका थिए ।
शुक्लागण्डकी नगरपालिका बनेपछि माओवादी केन्द्रको पहिलो नगर सम्मेलनबाट सचिव बने । एमालेसँग मिलेर नेकपा भएपछि जिल्ला सदस्य बनेका उनी पार्टी एकता भंग भएपछि माओवादी केन्द्र शुक्लागण्डकी नगर समितिको कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हाले । दोस्रो नगर सम्मेलनबाट शुक्लागण्डकी नगर अध्यक्ष बनेका थिए ।
अब उनी राजनीतिबाट निष्क्रिय हुन्छन् या अन्य पार्टी रोज्छन् चासोको विषय बनेको छ ।
साभार : तनहुँ खबर

उथल पुथल 









