स्याङ्जा। स्याङ्जाका एक वडाअध्यक्ष २७ महिनादेखि सम्पर्कविहीन छन् । पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष शिवबहादुर थापा लामो समयदेखि सम्पर्कविहीन भएका हुन् ।
स्वास्थ्य उपचारका लागि अन्यत्र देशमा जानु पर्ने भएको बताउँदै २०८० भदौ १५ गते वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर थापा अमेरिका हान्निएका थिए ।
२०८०–८१ को चलानी नं १६७ को पत्रमा आफू उपचारका लागि जानुपर्ने भएकाले दैनिक रूपमा उपस्थित भएर कामकाज गर्न नसक्ने भएकाले प्रत्यायोजित अधिकारको दुरुपयोग नहुने गरी कार्यवाहक वडाध्यक्षको जिम्मेवारी प्रदान गरेको पत्र थमाएर थापा हिँडेका हुन् ।
प्रशासन, अदालत, नगरपालिका समतेलाई बोधार्थ दिएर वडा सदस्यलाई जिम्मवेरी दिएका थापाको बारेमा नगरपालिकालाई समेत जानकारी नभएको नगरपालिका प्रमुख तुलसीराम रेग्मीले बताए।
थापा अमेरिका पुगेपछि पालिकाले २०८० भदौदेखि २०८१ असार महिनासम्मको यातायात, पत्रपत्रिका, मोबाइल रिचार्ज, अतिथि सत्कार, समन्वय सहजीकरण, बैठक तथा अनुगमन लगायतमा दुई लाख ७६ हजार १९० रुपियाँ बैँक खातामा सेवा सुविधा भुक्तानी गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले आफू हाजिर भएसँगै वडाध्यक्ष थापा नगरको सम्पर्कमा नरहेको बताए । २०८१ साउनदेखिको सेवा सुविधा रोकिएको उनको भनाइ छ ।
थापा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। पार्टीसँग कुनै सल्लाह नगरेको नेपाली कांग्रेसका नगर सभापति सुरजकुमार अधिकारीले बताए।
साभार:नयाँ पेज

उथल पुथल 









