दमौली,तनहुँ
‘कुनै पनि संस्था वा व्यवस्था कस्तो बन्ने भन्ने कुरा त्यसको नेतृत्वमा निर्भर हुन्छ। पार्टीलाई अध्यक्षले, सरकारलाई प्रधानमन्त्रीले, पालिकालाई मेयरले, विद्यालयलाई प्राचार्यले, र घरलाई घरमूलीले बनाउँछ वा बिगार्छ। नेतृत्वमा स्पष्ट दृष्टि, मिशन र कार्यदिशा नभए, कुनै पनि समूहले दीर्घकालीन परिणाम दिन सक्दैन।’ भन्दै महेन्द्र न्यौपाने देशको समसामयिक राजनिति र नेतृत्वका बारेमा लेख्छन् :
नेपाल अहिले फेरि एउटा निर्णायक राजनीतिक मोडमा आइपुगेको छ। प्रधानमन्त्रीको राजीनामापछि देशभरि फेरि सत्ता समीकरण र नेतृत्वको बहस चर्किएको छ। गठबन्धनहरू बनिरहेका छन्, टुटिरहेका छन्, तर देश भने अझै स्थायित्वको बाटोमा हिँड्न सकेको छैन। यो अवस्था आकस्मिक होइन— यो असफल नेतृत्वको दीर्घ परिणाम हो। जहाँ पद र स्वार्थले सिद्धान्त र जिम्मेवारीलाई बिर्सायो, त्यहाँ राज्य स्वाभाविक रूपमा धम्समा फस्छ।
राजनीतिमा जनताको भरोसा घट्दै गएको छ, किनभने सत्तामा पुग्नेहरूले कुर्सीलाई जिम्मेवारी होइन, स्वार्थको साधन बनाएका छन्। जब नेतृत्वमा दृष्टि हराउँछ र पदलोलुपता हाबी हुन्छ, तब प्रणाली कमजोर पर्छ र जनताको विश्वास मर्छ। आज नेपाल यही अवस्थामा पुगेको छ— जहाँ समस्या प्रणाली होइन, नेतृत्वको चरित्र हो।
कुनै पनि संस्था वा व्यवस्था कस्तो बन्ने भन्ने कुरा त्यसको नेतृत्वमा निर्भर हुन्छ। पार्टीलाई अध्यक्षले, सरकारलाई प्रधानमन्त्रीले, पालिकालाई मेयरले, विद्यालयलाई प्राचार्यले, र घरलाई घरमूलीले बनाउँछ वा बिगार्छ। नेतृत्वमा स्पष्ट दृष्टि, मिशन र कार्यदिशा नभए, कुनै पनि समूहले दीर्घकालीन परिणाम दिन सक्दैन।
सफल नेतृत्वले आफ्नो टोलीलाई प्रेरित गर्छ, मार्गदर्शन गर्छ, मूल्याङ्कन गर्छ र अन्ततः परिणाम दिन सक्षम हुन्छ। सदस्यहरूबाट विचार लिनु नेतृत्वको जिम्मेवारी हो, तर ती विचारलाई व्यवहारमा उतार्ने, कमजोरी पत्ता लगाउने र निर्णय गर्ने अन्तिम दायित्व पनि नेतृत्वकै हो। यदि प्रमुखले सही दिशा नदिए वा जिम्मेवारीबाट पन्छिए, त्यसको दोष पूरा समूहमाथि पर्छ।
नेतृत्वको असफलता व्यक्तिगत जस्तो देखिए पनि यसको प्रभाव समष्टिगत हुन्छ। जब नेताले पद ओगट्ने मात्रै गर्छन् तर जिम्मेवारी लिँदैनन्, तब संस्था नै कमजोर हुन्छ। राम्रो नेतृत्वले परिणाम ल्याउँछ, खराब नेतृत्वले बहाना। यही फरकले इतिहासमा कसैलाई असल, कसैलाई असफल बनाउँछ।
नेपालका पछिल्ला राजनीतिक घटनाक्रमले यही कुरा प्रष्ट देखाएका छन्। केपी शर्मा ओलीले इमानदार भएर सुशासन र पारदर्शिता कायम गर्न चाहेका भए सम्भव थियो, तर उनको हठीपन, आत्मप्रशंसा र “भस्मासुर” प्रवृत्तिले सरकारको नैतिक धरातल भत्कायो। शेरबहादुर देउवाले समयमै सुधारको पहल गरेका भए, नेपाली कांग्रेस पदलोभ र जोइटिङ्रे संस्कृतिबाट मुक्त हुन सक्थ्यो। रवी लामिछानेले राजनीतिक प्रतिशोध भन्दा जनसेवामा ध्यान दिएका भए, उनी जनताको भरोसाको प्रतीक बन्थे, भयको होइन। यी घटनाहरूले स्पष्ट देखाउँछन्— नेतृत्वको चरित्रले नै परिणाम निर्धारण गर्छ।
नेपालले अहिले इतिहासकै ठूलो राजनीतिक धम्स बेहोर्नु परेको कारण भाग्य होइन, अपवित्र स्वार्थ र असफल नेतृत्व हो। यदि जनताले २४ गतेको आन्दोलनमार्फत दबाब नदिएका भए, केपी ओलीले राजीनामा दिने अवस्था पनि आउँदैनथ्यो। अब त्यो राजीनामा राम्रो कि नराम्रो भन्ने कुरा भविष्यले बताउनेछ, तर निश्चित कुरा यो हो— नेतृत्वको चरित्रले नै देशको दिशा निर्धारण गर्छ।
अब समय भावनामा होइन, विवेकमा आधारित नेतृत्व रोज्ने हो। योग्य, इमानदार र दृष्टिवान् नेताले मात्रै देशलाई दिशानिर्देश गर्न सक्छन्। पद ठूलो होइन पदमा बस्ने मानिसको सोच, दृष्टि र इमान नै ठूलो हुन्छ। नेपालको पुनर्निर्माण नेतृत्वको परिवर्तनबाट होइन, नेतृत्वको चरित्र परिवर्तनबाट मात्र सम्भव छ।

उथल पुथल 









