छिम्केश्वरी–बूढीदेवी महायज्ञमा ४ वर्षीया बालिकाद्वारा प्रेरणादायी दान

आँबुखैरेनी,तनहुँ

छिम्केश्वरी–बूढीदेवी महायज्ञमा आँबुखैरेनी–३ निवासी ४वर्षीया सिल्भाना के.सीले गरेको दान अहिले स्थानीय स्तरमै प्रेरणाको विषय बनेको छ। उनले आफ्नै बचत गरेको रकम ११ हजार १ सय ५१रुपैयाँ  महायज्ञमा दान अर्पण गरेकी हुन्।

सिल्भाना यही कात्तिक १७ गते ४ वर्ष लाग्दै छिन्। जन्मदिनको अवसरमा रमाइलो वा उपहारका सट्टा उनले आफैंले थोरै–थोरै गरेर जम्मा गरेको पैसा समाजका लागि प्रयोग गर्न चाहिन्। “आफ्नै ठाउँको विकासको लागिमहायज्ञ भइरहेको थाहा पाएपछि उनले आफैंले बचत गरेको पैसा दान गर्ने सोच बनाइन्,” उनकी आमा सृजना के.सी. ले भनिन् ।
सृजनाका अनुसार, सिल्भाना सानैदेखि धार्मिक तथा सामाजिक कार्यक्रममा रुचि राख्छिन्। उनी विद्यालयमा पनि अनुशासित र सहयोगी विद्यार्थीका रूपमा चिनिन्छिन्। “सानै उमेरमा यस्तो सोच हुनु अभुतपूर्व कुरा हो, छोरीले देखाएको व्यवहारले हामी अभिभावक मात्र होइन, गाउँकै लागि गर्वको कुरा बनेको छ,” सृजनाले थपिन्।

महायज्ञ आयोजन समितिका अनुसार, अहिले सम्म ७० लाख  रुपैयाँभन्दा बढी दान संकलन भइसकेको छ। दानदातामध्ये साना बालबालिका देखि वृद्धवृद्धासम्म सबैको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिका अध्यक्षले कृष्णमान तमाङले बताए ।
महायज्ञ आँबुखैर्नी हाट बजार परिसरमा भव्य रूपमा सञ्चालन भइरहेको छ। स्थानीय समुदायको सक्रिय सहभागितामा आयोजना गरिएको यो धार्मिक कार्यक्रमले एकता, सद्भाव र सामाजिक सहयोगको भावना अभिवृद्धि गरेको आयोजकहरू बताउँछन्।

महायज्ञका क्रममा विभिन्न धार्मिक विधि–विधान, कथा वाचन, भजनकीर्तन र सत्सङ्गजस्ता कार्यक्रमहरू हुँदै आएका छन्। सिल्भानाको यो सानो तर अर्थपूर्ण योगदानले अन्य बालबालिकामा पनि दान र सामाजिक उत्तरदायित्वप्रति चेतना जगाएको स्थानीय अपेक्षा श्रेष्ठले बताइन् ।
“आजको पुस्ता मोबाइल र मनोरञ्जनमा मात्रै केन्द्रित हुने समयमा सिल्भानाले समाज र धर्मप्रति देखाएको निष्ठा निकै प्रशंसनीय छ,” श्रेष्ठले बताइन् ।। महायज्ञको आय–व्यय पारदर्शी रूपमा व्यवस्थापन गर्न समिति सक्रिय रहेको र प्राप्त सहयोग रकम स्थानीय मन्दिर क्षेत्र र सामुदायिक विकासका कार्यमा खर्च गरिने जनाइएको छ।