ढुलेगौंडा,तनहुँ तनहुँको शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति वडा नं. ४ ले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई गत मंगलवार सम्मान गरेको छ ।
खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाएकोमा मंगलवार दुलेगौंडामा आयोजित खुल्ला तीज गीत प्रतियोगिताको अवसरमा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, नगर प्रमुख कृष्णराज पण्डित लगायतले सम्मान पत्र र नगद सहित सम्मान गरेका हुन् । प्रदेश सभा सदस्य गुरुङले महिला दिदी बहिनीका विषयलाई प्रदेश सभामा उठाउदै आएको बताउदै तीजलाई संस्कृति संरक्षणको रुपमा लैजानुपर्नेमा जोड दिइन् । कार्यक्रममा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले ठूलो संघर्ष गरेर खेल क्षेत्रमा आएको बताउदै आफूलाई इच्छा लागेको क्षेत्रमा निरन्तर समर्पित भए सफलता प्राप्त गर्न सकिने अनुभव सुनाईन् ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को कार्यालय र महिला उद्यमी विकास समिति शुक्लागण्डकीको सह–आयोजनामा सो प्रतियोगिता भएको हो । सोहि अवसरमा पुराना व्यवसायी राम कुमारी गुरुङलाई सम्मान गरियो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, नगर उपप्रमुख खुम बहादुर विक राजु, वडा नं. ४ का अध्यक्ष राजकुमार वाग्ले, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, संस्थापक अध्यक्ष वशन्त ज्वारचन, नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश थापा, महिला उद्यमी विकास समिति अध्यक्ष मनिषा विक लगायतले बोलेका थिए ।