६ दिनदेखि बेखवर चन्द :अनुसन्धानलाई तीब्रता दिदै प्रहरी

दमौली, तनहुँ

जिल्लाको ऋषिङ्ग गाउँपालिका वडा नं १ झापुटारबाट श्रावण ७ गते रातीदेखि २६ बर्षीय कमलेश चन्द रहस्यमय तरिकाले बेखबर भएपछि प्रहरीले अनुसन्धान कार्यलाई तीब्रता दिन थालेको छ । प्रदेश प्रहरी कार्यालय पोखराबाट टेक्निकलसहितको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा तीन जना प्रहरी दमौली आई अनुसन्धान कार्यलाई तीब्रता दिएको छ।

  जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी  उपरिक्षक (एसपी )बीरेन्द्र बहादुर शाहीले चन्दको खोजी कार्यका लागि प्रहरीले हदैसम्मको अनुसन्धान गरिरहेको बताए। उक्त टोली र जिल्ला प्रहरी कार्यलय तनहुँको प्रहरी टोलीले अझै अनुसन्धान कार्यलाई प्रभावकारी बनाई सत्यतथ्य बाहिर ल्याउन सफल हुने विश्वास लिइएको प्रहरी उपरिक्षक शाहीले बताए। प्रहरी आफ्नो अनुसन्धान कार्यमा लागिरहेको छ, शाहीले भने  पीडित व्यक्तिहरुले पनि अनुसन्धानमा सहयोग गरिदिन र संयमित भएर बस्न आग्रह गर्दछु ।

यता चन्दका आफन्त एवं शुभचिन्तकहरुले कि सास कि लास चाहियो भन्दै प्रहरी प्रशासनलाई दबाब दिदै आएका छन् । सयौंका संख्यामा सहभागी स्थानीयबासीले तत्काल खोजतलास गरी यथार्थ सार्वजनिक गर्न र दोषीलाई कानुनी कारवाहीमा ल्याउन उनीहरुले माग गरेका छन् ।प्रहरी प्रशासनले बेखवर भएका चन्दको खोजी कार्यमा ढिलासुस्ती र बेवास्ता गरेमा थप कडा आन्दोलनमा उत्रिन बाध्य हुने पनि उनीहरुले बताएका छन् ।

प्रहरीले चन्द हराउने कार्यमा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानका साथसाथै सेतीनदी किनार आसपास र अन्य संम्भावित स्थानहरुमा पनि खोजी कार्यलाई तीब्रता दिइरहेको तनहुँका प्रहरी नायब उपरिक्षक (डिएसपी) अशोक थापाले जानकारी दिए । प्रहरीले गर्नुपर्ने अनुसन्धान र खोजतलासमा कुनै कसर बाँकी नराखी निरन्तर लाग्दै आएका छौ, प्रहरी नायब उपरिक्षक थापाले बताए।