काठमाडौं
अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। कैलाली र रौतहटबाट प्रहरीले छुट्टाछुट्टै घटनामा तीन जनालाई नियन्त्रणमा लिएको हो।
कैलालीको टिकापुर नगरपालिका–१ गुम्बारोडबाट खैरो हेरोइन जस्तो देखिने लागूऔषध १ ग्राम ७ सय मिलिग्रामसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा टिकापुर नगरपालिका–९ खग्रौलाका ४५ वर्षीय अनिल थापा रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले मंगलबार दिउँसो उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, रौतहटको गौर नगरपालिका–३ स्थित विपी चोकबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का २७ वर्षीय अजय विक रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको ना।१ ह ७८९३ नम्बरको ई–रिक्सा जाँच गर्ने क्रममा लागूऔषध फेनारगन ११० एम्पुल, डाइजोपाम ४७ एम्पुल र बुप्रेनोर्फिन ११० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

उथल पुथल 









