कश्मीरमा लश्करका घरमा विष्फोट, एलओसीमा भारतीय र पाकिस्तानी सेनाबीच गोलीबारी

काठमाडौँ । भारतस्थित जम्मू–कश्मीरमा आतंकवादी समूह लश्कर–ए–तैयबाका दुई आतंकवादीको घरमा विष्फोट भएको छ । शुक्रबार बिहान त्रातमा आसिफ शेख र अनन्तनागको बिजबेहरामा आदिल ठोकरेको घरमा खोजी सर्च अपरेशन चलिरहेका बेलामा उक्त कार्य भएको हो ।

सेनाले खोजी जारी राखिरहेका बेलामा ती दुवै घरमा विष्फोटक पदार्थ भेटिएको थियो । सेनाका जवानहरु सुरक्षाका लागि पछाडि हट्ने क्रममा विष्फोट भएको हो । यी दुवै आतंकवादीको नाम पहलगाम घटनामा जोडिएको छ ।

यसैबीच कश्मीरको बान्दीपोराको कुलनार क्षेत्रमा सुरक्षा बल र आतंकवादीबीच कश्मीरको बन्दीपोराको कुलनार क्षेत्रमा सुरक्षा बल र आतंककारीहरूबीच मुठभेड भइरहेको छ। यहाँ आतंककारीहरू लुकेर बसेको जानकारी सेनाले पाएको छ ।

सैन्य स्रोतलाई उधृत गर्दै भारतीय मिडियाले जनाएअनुसार दुई सैनिक घाइते भएका छन् । अर्कोतर्फ पाकिस्तानी सेनाले पनि शुक्रबार बिहान नियन्त्रण रेखा (एलओसी) का धेरै क्षेत्रमा गोलीबारी गरेको छ। भारतीय सेनाले तुरुन्तै जवाफ दिएको छ ।

सेना प्रमुख उपेन्द्र द्विवेदीले आज पहलगामको बैसरन उपत्यकाको पनि भ्रमण गर्नेछन् । पहलगाम आतंकवादी हमलाका घाइतेहरूलाई भेट्न कांग्रेस नेता राहुल गान्धी पनि अनन्तनाग अस्पताल पुग्नेछन् । सिन्धु जल सन्धिको बारेमा आज गृहमन्त्री अमित शाहको निवासमा बैठक हुनेछ । भारतले बिहीबार सन् १९६० को सिन्धु जल सन्धि निलम्बन गरेको छ।

२२ अप्रिलको दिउँसो पहलगामको बैसरन उपत्यकामा आतंककारीहरूले पर्यटकहरूमाथि गोली चलाएका थिए । आक्रमणमा एक नेपालीसहित २७ पर्यटक मारिएका थिए । १० जनाभन्दा बढी घाइते छन् ।