तनहुँ, जेठ २४ गते ।पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सडक सचेतना अभियान आइतबारबाट सुरु गरिएको छ ।
मुख्यगरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा मुख्य सडक मार्गमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सुरु गरेका हुन् ।
अभियान अन्तर्गत सडकमा चल्ने चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुशासनको पालना, र मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन नचलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ ।
प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो २४ घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्दछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २२ गते बिहान ६ बजेदेखि जेठ २३ गते बिहान ६ बजेसम्मको अवधिमा मात्रै तनहुँका विभिन्न स्थानमा ३ वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा परी चार जना घाइते भएका छन्, जसमध्ये एक जना गम्भीर, एक जना मध्यम र दुई जना सामान्य घाइते भएका छन् ।
यस अभियान र जिल्लाको समग्र सडक सुरक्षाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले सवारी दुर्घटना हुनुमा चालकको लापरबाही र तीव्र गति मुख्य जिम्मेवार रहेको बताए ।
पछिल्लो समय बिहानीको समयमा अत्यधिक दुर्घटनाहरू भइरहेको पाइएकाले चालकले तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने र थकाईले गर्दा बिहानपख दुर्घटना बढेको डीएसपी घिमिरेले उल्लेख गर्नुभयो ।
यसैलाई मध्यनजर गर्दै बिहानको समयमा विशेष निगरानी र चेकिङ सुरु गरिएको जानकारी दिँदै डीएसपी घिमिरेले भने, “दुर्घटना न्यूनीकरण गर्न प्राविधिक तयारी मात्र पुग्दैन, चालक र यात्रु स्वयं पनि सचेत हुनुपर्छ । यो अभियानले नागरिकमा सडक अनुशासनको भावना जगाउने विश्वास लिएका छौँ ।’’
अभियानलाई जिल्लाका सबै मुख्य राजमार्ग तथा सहायक सडकहरूमा विस्तार गर्ने र नियम मिच्ने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने समेत जनाएको छ ।

उथल पुथल 









