तनहुँ, जेठ १९ गते । निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँधको आधा कङ्क्रिटिङको काम सकिएको छ । राष्ट्रिय गौरवको १४० मेगावाट क्षमताको यस आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँधका लागि आवश्यक पर्ने कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म चार लाख २४ हजार एक सय २० घनमिटर कङ्क्रिट राख्ने काम पूरा भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए।
भण्डारीका अनुसार मुख्य बाँधको आधा जति काम अघि बढेसँगै आयोजनाका अन्य मुख्य संरचनाहरू निर्माणको अन्तिम चरणमा पुगेका छन् । ऋषिङ गाउँपालिका–१, झापुटारमा निर्माणाधीन आयोजनाको समग्र काममा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ ।
मुख्य बाँध र सुरुङ निर्माणले उल्लेख्य गति लिएका छन् । आयोजनाका तीनवटै प्याकेजमध्ये बाँध र विद्युत् गृह निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आयोजना समयमै सम्पन्न हुने विश्वास बढेको छ ।
प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्र्स)को काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा हालसम्म ५७ प्रतिशत भौतिक प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध र दुई वटा ‘डाइभर्सन’ सुरुङलगायत संरचनाको निर्माण यसअघि नै सकिएको थियो । १४० मिटर अग्लो बाँध निर्माणका लागि कङ्क्रिटिङ, कोर ड्रिलिङको काम तीव्र गतिमा जारी छ ।
यसैगरी, प्याकेज–२ अन्तर्गत विद्युत् गृह तथा सम्बन्धित उपकरणको काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ । यस प्याकेजको प्रगति ७६ प्रतिशत पुगेको आयोजनाका अधिकारीले जनाएका छन् ।
भूमिगत संरचनाहरू खन्ने कार्य सम्पन्न भई अधिकांश सिभिल निर्माणको काम सकिएका छन् । विद्युत् गृह, केवल सुरुङ, सर्च ट्याङ्क र टेलरेस लगायत संरचनाको मुख्य कङ्क्रिटिङ सकिएको छ । जलाशयको पानी विद्युत् गृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट लाइनिङ कार्य अन्तिम चरणमा पुगेको छ ।

कुल एक हजार ४१८ दशमलव ७५ मिटर लामो सुरुङमध्ये हालसम्म एक हजार ४०७ दशमलव ७५ मिटर कङ्क्रिट लाइनिङको काम सम्पन्न भइसकेको छ । प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल लिमिटेड भारतले दमौली–भरतपुर २२० केभी ३३ किलोमिटर लामो प्रसारण लाइनको काम गरिरहेको छ, जसको प्रगति ७७ प्रतिशत पुगेको छ ।
यस प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सकिएको छ । हाल प्रसारण लाइनको मार्गाधिकारमा पर्ने राष्ट्रिय वनका रुखहरू हटाउन सम्बन्धित डिभिजन वन कार्यालयसँगको समन्वयमा छपान कार्य भई रुख काट्नेलाई तालिम दिन लागिएको छ ।
कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैँक (एडिबी), जाइका, युरोपियन लगानी बैँक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ । आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट विद्युत् उत्पादन हुने छ ।
यस आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको विकास प्रक्रियासमेत अघि बढाइएको छ ।

उथल पुथल 









