बागलुङ,जेठ १९ गते । जनैपूर्णिमाको अवसरमा बागलुङको ढोरपाटनमा प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल गरिने भएको छ ।
ढोरपाटन क्षेत्रमा उत्पादन हुने प्रसिद्ध आलु तथा अन्य अर्गानिक कृषि उत्पादनहरूको प्रवर्धन गर्ने उद्देश्यले ‘प्रथम ढोरपाटन आलु महोत्सव तथा अर्गानिक फुड फेस्टिभल’ गर्न लागिएको ढोरपाटन नगरपालिका कार्यबाहक नगर प्रमुख कल्याण कायतले बताए। महोत्सव ढोरपाटन एयरपोर्ट प्राङ्गणमा गरिने उल्लेख गरेको छ ।
महोत्सव बारे आफ्नो फेसबुक पेजमा लेख्दै उनले ‘महोत्सव मार्फत कृषि, पर्यटन र खेलकुद क्षेत्रको विकासलाई गति दिनुका साथै स्थानीय कला, संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र प्रवर्धन गर्ने लक्ष्य राखिएको छ।’ उल्लेख गरेको छ ।
स्थानीय व्यापार, व्यवसाय र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आर्थिक गतिविधि विस्तार गर्न महोत्सव महत्वपूर्ण माध्यम बन्ने उनको अपेक्षा छ । महोत्सव भदौको दोस्रो हप्ता सञ्चालन हुने छ ।

विशेष गरि ढोरपाटन र बुकीपाटन क्षेत्रमा उत्पादन हुने अर्गानिक कृषि उपजको प्रवर्धन, कृषि, पर्यटन तथा खेलकुद क्षेत्रको एकीकृत विकास, स्थानीय कला, संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रदर्शन, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न पहल गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको कार्यबाहक नगर प्रमुख कायतले बताए।
कायतले निजी क्षेत्रका सफल उद्योगी तथा लगानीकर्ताहरूलाई अवलोकन, अनुसन्धान र लगानीका अवसरहरू सिर्जना गर्ने वातावरण निर्माण गर्ने बताउँदै अवलोकनकोलागि आमन्त्रण गरिएको छ । ढोरपाटन आलु उत्पादनमा पर्ख्यात छ ।
समुन्द्री सतहदेखि १८०० देखि २७०० मिटर उचाईमा उत्पादन हुने आलु निकै स्वादिलो र अर्गानिक हुने गर्दछ । ढोरापटन जिल्लाकै ताराखोला पछी राम्रो आलु उत्पादन हुने ठाउँमध्ये पर्दछ ।

उथल पुथल 









