संघर्ष र संगठनको मिसाल : क्षेत्र नं १ मा गगन टिमका दरिला खम्बा श्याम मौरती

तनहुँ।नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति श्याम मौरती पछिल्लो महाधिवेशन प्रक्रियामा केवल संगठनकर्ता होइन, संघर्ष, जिम्मेवारी र राजनीतिक प्रतिबद्धताको प्रतीकका रूपमा उभिएका छन्।

गगन थापा नेतृत्वको टिमका दरिला खम्बामध्ये एक मानिने मौरतीको भूमिकाले पार्टीभित्र गहिरो सन्देश दिएको छ।

विशेष महाधिवेशनको संवेदनशील समयमा श्याम मौरती व्यक्तिगत रूपमा गम्भीर पीडाबाट गुज्रिरहेका थिए। उनका बुवाको निधन भएपछि उनी किरिया पुत्रीको अवस्थामा थिए।

तर व्यक्तिगत शोकका बीच पनि उनले पार्टी संगठनलाई प्राथमिकतामा राखे। सोही अवधिमा क्षेत्र तथा जिल्लाका कांग्रेस नेता–कार्यकर्तालाई समेटेर क्षेत्रीय सभापतिको हैसियतमा औपचारिक विज्ञप्ति जारी गर्दै माहोल निर्माण गरेका थिए।
राजनीतिमा विरलै देखिने यस्तो समर्पणले मौरतीलाई क्षेत्र नं १ मा मात्र होइन, जिल्लास्तरमै अलग पहिचान दिलाएको कांग्रेस वृत्तको बुझाइ छ।
अन्तिम दिनको हतारो, निर्णायक उपस्थिति
महाधिवेशनको अन्तिम दिन मौरतीले किरिया कर्म सकेर हतारहतार काठमाडौं प्रस्थान गरेका थिए। शारीरिक र मानसिक रूपमा कठिन अवस्थामा भए पनि उनले आफ्नो उपस्थिति अनिवार्य ठाने। राजनीतिक प्रतिबद्धता कस्तो हुन्छ भन्ने उदाहरणका रूपमा उनको त्यो यात्रा कांग्रेस कार्यकर्तामाझ अहिले पनि चर्चा हुने गरेको छ।
संगठन क्षमता र प्रतिनिधि व्यवस्थापन
जिल्लामा मौरतीको अर्को महत्वपूर्ण भूमिका भनेको महाधिवेशन प्रतिनिधि व्यवस्थापन हो। देउवा पक्षको प्रभाव बलियो मानिने जिल्लामा पनि उनले गगन टिमको पक्षमा उल्लेख्य संख्यामा प्रतिनिधि समेटेर काठमाडौं पुर्‍याउन सफल भएका थिए। यसले उनको संगठन क्षमता, समन्वय शक्ति र राजनीतिक प्रभावलाई स्पष्ट रूपमा देखाएको थियो।
युवावस्थामै जिम्मेवारी सम्हाल्दै आएका मौरतीलाई पार्टीभित्र क्षमता भएका, भरोसायोग्य र परिणाम निकाल्न सक्ने नेताका रूपमा हेरिन थालेको छ।
आधिकारिकतापछि उत्साह
गगन थापा नेतृत्वको टिमले कांग्रेसको आधिकारिकता पाएसँगै श्याम मौरती अहिले खुला रूपमा खुसी र उत्साहित देखिएका छन्। आफूले गरेका त्याग, मेहनत र संगठनात्मक प्रयासले मान्यता पाएको अनुभूति उनी निकटहरूलाई सुनाउने गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार श्याम मौरतीजस्ता युवा नेताको सक्रियता, त्याग र संगठन क्षमताले नै कांग्रेसभित्र नयाँ पुस्ताको नेतृत्व उदाउँदै गएको संकेत दिएको छ। क्षेत्र नं १ बाट सुरु भएको उनको राजनीतिक भूमिका अब जिल्लाबाट केन्द्रसम्म विस्तारिने अपेक्षा गरिएको छ।