अमेरिकाले मादुरोलाई कसरी गिरफ्तार गर्‍यो ?

काठमाडौँ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका हरेक गतिविधि महिनौँदेखि निगरानी गरिरहेका थिए।

भेनेजुएलाको सरकारभित्रै रहेको एउटा स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मादुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे भनेर नियालिरहेका थिए। एक जना अमेरिकी शीर्ष सैन्य अधिकारीहरूका अनुसार उनका ‘घरपालुवा जनावरहरू’ समेत निगरानीमै थिए ।

‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नाम दिइएको योजनाबद्ध मिशनले डिसेम्बरको आरम्भमा अन्तिम रूप पायो। महिनौँको सूक्ष्म योजना र अभ्यास पछि उक्त मिशन तयार भएको थियो। यसको तयारीका क्रममा अमेरिकी विशेष फौजका सैनिकहरूले कराकासस्थित मादुरो बस्ने सुरक्षित आवासजस्तै संरचना बनाएर त्यहाँ प्रवेश गर्ने अभ्याससमेत गरेका थिए।

शीतयुद्धपछि ल्याटिन अमेरिकामा सबैभन्दा असाधारण अमेरिकी सैनिक हस्तक्षेप मानिएको यो योजना अत्यन्त गोप्य राखिएको थियो। अमेरिकी संसद् कंग्रेसलाई पनि यसबारे जानकारी थिएन। सबै तय भइसकेपछि अमेरिकी उच्च सैन्य अधिकारीहरू उपयुक्त मौकाको प्रतीक्षामा मात्र थिए।

राष्ट्रपति डोनल्ड ट्रम्पले चार दिनअघि नै आक्रमणको अनुमति दिए पनि मौसम अनुकूल नहुँदा र बादल पातलो नहुँदा योजना स्थगित गरिएको थियो।

‘क्रिसमस र नयाँ वर्षको बीचतिरका साताहरूमा अमेरिकी सेनाका महिला र पुरुषहरू उपयुक्त सङ्केत र राष्ट्रपतिबाट आदेशको आउने प्रतीक्षामा पूर्ण तयारी अवस्थामा बसे,’ सर्वोच्च सैनिक अधिकारी जेनरल ड्यान केनले शनिवार बिहानको पत्रकार सम्मेलनमा भने।

अन्ततः राष्ट्रपति ट्रम्पले शुक्रवार राती मिशन सुरु गर्ने आदेश दिए ।

‘हामीले चार दिनअघि, तीन दिनअघि, दुई दिनअघि नै गर्न लागेका थियौँ। सम्भव हुनासाथ हामीले अघि बढ्न भन्यौँ,’ ट्रम्पले शनिवार फक्स एन्ड फ्रेन्ड्स कार्यक्रममा भने ।

सैनिक जेनरल केनले ट्रम्पको आदेशबारे भने, ‘उहाँले हामीलाई शुभकामना दिनुभयो त्यसका लागि आभारी छौँ।’

कराकासमा मध्यरात हुनुअघि उक्त आदेश दिइएको थियो र सेनालाई अन्धकारको फाइदा उठाउँदै कारबाही अघि बढाउने अवसर थियो।

आदेशलगत्तै आकाश, जमिन र समुद्री मार्गबाट २ घण्टा २० मिनेट लामो कारबाही भयो। अमेरिकाको यो आक्रमणले वासिङ्टनसहित र विश्वभरि धेरैलाई स्तब्ध बनायो। आक्रमणको आकार र सटिकताका हिसाबले यो करिब अभूतपूर्व थियो।

ब्रजिलका राष्ट्रपति लुला दा सिल्भाले तत्कालै भेनेजुएलाका नेताको हिंसात्मक पक्राउले ‘अन्तर्राष्ट्रिय समुदायका लागि अर्को अत्यन्त खतरनाक नजिर’ स्थापना गरेको भन्दै निन्दा गरे।

ट्रम्पले यो अभियान ह्वाइट हाउसको ‘सिचुएशन रुम’बाट नभई फ्लोरिडाको पाम बीचस्थित आफ्नो एउटा क्लबमा सल्लाहकारहरूसँगै बसेर प्रत्यक्ष प्रसारणमार्फत् हेरेका थिए। त्यहाँ उनीसँग सीआईए निर्देशक जोन र्‍याट्क्लिफ र विदेशमन्त्री मार्को रुबिओ पनि थिए।

‘त्यो देख्दै अद्भुत थियो,’ ट्रम्पले शनिवार भने।

‘मलाई टेलिभिजन कार्यक्रम हेरिरहेझैँ महसुस भएको थियो। गति, हिंसा… छक्क पार्ने किसिमको थियो। यी मानिसहरूले गज्जबको काम गरे।’

पछिल्ला केही महिनायता हजारौँ अमेरिकी सैनिक यस क्षेत्रमा तैनाथ भएका थिए। एउटा विमानवाहक युद्धपोत र दर्जनौँ लडाकु विमान सहित दशकौँयताकै ठूलो सैनिक उपस्थिति यो क्षेत्रमा थियो।

ट्रम्पले मादुरोमाथि लागुऔषध तस्करी र ‘लागुऔषध आतङ्कवाद’को आरोप लगाएका थिए। अमेरिकाले यो क्षेत्र वरपर लागुऔषध ओसारपसारमा संलग्न भनिएका दर्जनौँ साना डुङ्गा नष्ट गरिसकेको थियो।

‘अपरेशन एब्सोल्यूट रिजल्भ’ को पहिलो सङ्केत आकाशमा देखिएको थियो।

अमेरिकी अधिकारीहरूका अनुसार १५० वटा भन्दा बढी बमवर्षक, लडाकु जेट र गुप्तचर विमानहरू रातभरि आकाशमा उडाइएका थिए।

‘यो अत्यन्त जटिल थियो। यसको चाल, अवतरण, विमानहरूको सङ्ख्या सबै,’ ट्रम्पले फक्स न्यूजसँग भनेका छन्।

‘हामीसँग हरेक सम्भावित अवस्थाका लागि लडाकु जेट तयार थिए।’ स्थानीय समय अनुसार बिहान करिब २ बजे कराकासमा ठूलो विस्फोटको आवाज सुनिएको थियो। लगत्तै सहरमाथि धुवाँका मुस्लोहरू उठेको देखियो।

‘मैले ठूलो आवाज, भयानक विस्फोट सुनेँ,’ पत्रकार आना भानेसा हेरेरोले बीबीसीसँग भनिन्।

‘त्यो आवाजले सबै झ्यालहरू थर्कायो। त्यसपछि जता हेरे पनि बादलसरी धुवाँ उडिरहेको देखेँ।’

उनका अनुसार सहरभरि विमान र हेलिकप्टरहरू उडिरहेका थिए। सामाजिक सञ्जालमा केहीबेरमै आकाशमा दर्जनौँ विमान उडिरहेका र विस्फोटपछिको अवस्था देखाउने भिडिओहरू फैलिएका थिए।

एउटा भिडिओमा कराकासमाथि धुवाँको मुस्लो उडिरहेको र निकै कम उचाइमा लस्करै हेलिकप्टरहरू उडिरहेको देखिन्छ।

‘हामी करिब १:५५ बजे विस्फोटको गर्जन र विमानको आवाजले बिउँझियौँ,’ कराकासकी बासिन्दा ड्यानिएलाले बीबीसीसँग भनिन्।

‘चारैतिर पूर्ण अन्धकार थियो, विस्फोटका चम्किला झिल्काले मात्र उज्यालो बनाइरहेको थियो।’

बीबीसी भेरिफाईले कराकास वरपरका विभिन्न स्थानका विस्फोट, आगो र धुवाँ देखिने भिडिओहरूको जाँच गरी सम्भावित स्थान पहिचान गरेको छ।

दृश्यमा देखिएका ठाउँहरू जनरलिसिमो फ्रान्सिस्को दे मिरान्डा एअर बेस, ला कार्लोटा विमानस्थल र क्यारिबिअन सागरसँग कराकास जोड्ने मुख्य बन्दरगाह ला ग्वाइरासहित पाँच स्थान रहेका हालसम्म पुष्टि भएका छन्। अमेरिकाका केही आक्रमण हवाई रक्षा प्रणाली र अन्य सैनिक संरचनातर्फ केन्द्रित थिए।

ट्रम्पले कारबाही सुरु हुनुअघि नै कराकासको बिजुली काटिएको बताए पनि त्यो कसरी गरियो भन्ने स्पष्ट गरेका छैनन्।

‘हाम्रो विशेष दक्षताका कारण कराकासका अधिकांश बत्तीहरू निभाइयो,’ उनले भने।

‘त्यहाँ अन्धकार थियो र त्यो घातक थियो।’

कराकास वरिपरि आक्रमण भइरहँदा अमेरिकी विशेष फौज सहरभित्र प्रवेश गरेका थिए। स्रोतका अनुसार तीमध्ये अमेरिकी सेनाको सबैभन्दा गोप्य विशेष दस्ता डेल्टा फोर्सका सदस्यहरू पनि थिए। मादुरोको सुरक्षित आवास ‘सेफ हाउस’का फलामे ढोका काट्नुपर्ने अवस्थामा प्रयोग गर्न ‘ब्लो-टर्च’समेत उनीहरूले सँगै लिएर गएका थिए।

जेनरल केनका अनुसार बिहान २ बजेर १ मिनेटमा आक्रमण सुरु भएको केही समयमै सैनिकहरू मादुरो रहेको सेफ हाउसमा पुगेका थिए। ट्रम्पले उक्त स्थानलाई कराकासको मुटुमा अति सुरक्षित ‘किल्ला’ भनेका छन्।

‘उनीहरू पूरै तयारी अवस्थामा थिए। उनीहरूलाई हामी आउने थाहा थियो,’ ट्रम्पले भने।

त्यहाँ पुग्ने बित्तिकै सैनिकमाथि गोली चलाइएको थियो। एउटा अमेरिकी हेलिकप्टरमा समेत गोली लागे पनि उक्त हेलिकप्टर उडिरह्यो।

‘तीव्रता, सटिकता र अनुशासनका साथ मादुरोको परिसरभित्र उनीहरू ओर्लिए,’ जेनरल केनले भने।

ट्रम्पले उनीहरू मादुरो रहेको भवनका हरेक ठाउँमा प्रवेश गरेका बताए। ‘त्यहाँ रहेका स्टीलका ढोकाहरू त्यही कामका लागि मात्रै राखिएका थिए,’ मादुरोको सेफ हाउसमा स्टीलका ढोका रहेको प्रसङ्ग उल्लेख गर्दै ट्रम्पले सुनाए ।

मादुरोकी पत्नी सिलिया फ्लोरेस पनि पक्राउ परेपछि मात्रै अमेरिकी विदेशमन्त्री रुबिओले सांसदहरूलाई कारबाहीबारे जानकारी दिन सुरु गरेका थिए। ट्रम्पको यो कदमप्रति कंग्रेसका केही सदस्यहरूले आक्रोश व्यक्त गरेका थिए।

‘निकोलस मादुरो अवैध तानासाह रहेको कुरा म स्पष्ट गर्न चाहन्छु तर कंग्रेसको अनुमतिबिना र त्यसपछि के गर्ने भन्ने विश्वसनीय योजनाबिना सैनिक कारबाही सुरु गर्नु लापरबाही हो,’ सिनेटमा डेमोक्र्याटिक पार्टीका शीर्ष नेता चक शूमरले भने।

संसद्‌लाई अग्रिम जानकारी दिँदा अभियान जोखिममा पर्न सक्ने दबी रुबिओले पत्रकारहरूसँग गरेका छन्।

‘कंग्रेसबाट कहिलेकाहीँ सूचना चुहिने समस्या छ,’ ट्रम्पले थपे, ‘यो राम्रो हुने थिएन।’

पछिल्ला महिनाहरूमा क्युवाका सुरक्षा गार्डहरूमा भर पर्न थालेका मादुरो अमेरिकी सैनिकहरू राष्ट्रपतीय भवनको परिसरभित्र पस्दै गर्दा सुरक्षित कोठातर्फ भाग्न खोजेका थिए।

‘उनी सुरक्षित स्थानमा जान प्रयास गरिरहेका थिए, तर त्यो सुरक्षित थिएन, किनभने हामी ४७ सेकेन्डमै ढोका उडाइदिन सक्थ्यौँ,’ ट्रम्पले भने।

‘उनी ढोकासम्म पुगे तर बन्द गर्न भ्याएनन्,’ ट्रम्पले सुनाए, ‘उनी यति छिटो घेरिए कि त्यो कोठाभित्र पस्न नै पाएनन्।’

मादुरोले प्रतिरोध गरेका भए उनी मारिन सक्ने पत्रकारको प्रश्नमा ट्रम्पले बताएका छन्।

ट्रम्पका अनुसार कारबाहीमा संलग्न अमेरिकीहरूमध्ये केही घाइते भए पनि कसैको मृत्यु भएन। भेनेजुएलाको पक्षतर्फ भएको क्षतिबारे अधिकारीहरूले आधिकारिक विवरण दिएका छैनन्।

शनिवार बिहान ४ बजेर २० मिनेट हुनुअघि नै हेलिकप्टरहरूले मादुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट बाहिर पुर्‍याइसकेका थिए।

यसअघि अमेरिकाले मादुरोको गिरफ्तारीका लागि सहयोग पुग्ने गरी सूचना दिनेलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

मादुरोलाई नियन्त्रणमा लिएको करिब एक घण्टापछि मात्रै ट्रम्पले विश्वलाई त्यसको जानकारी दिएका थिए। ‘मादुरो र उनकी पत्नीले अब अमेरिकी न्यायको पूर्ण सामर्थ्य सामना गर्नेछन्,’ उनले भने।

साभार:बिबिसी