तनहुँमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड संचालन

ढुलेगौंडा तनहुँ

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पहिलो पटक इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली लागू भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मंगलबार एक विशेष समारोहबीच यसको उद्घाटन गरेका हुन्।

विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा सुरु गरिएको यस प्रणालीको परीक्षण गत जेठ १४ गते सम्पन्न गरिएको थियो। अवदेखि बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण इलेक्ट्रोनिक प्रणालीमार्फत व्यवस्थापन हुने भएकाले सेवाग्राहीलाई उपचारमा सहजता हुने उपचार केन्द्रले जनाएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलिको भारत भ्रमणका क्रममा जिपी कोइराला केन्द्रलाई ३०० शय्या क्षमताको अस्पतालमा विस्तार गर्ने विषयमा नेपाल-भारतबीच सम्झौता हुने जानकारी दिए। भारत सरकारले यसअघि नै सो अस्पताल विस्तारमा सहमति जनाइसकेको र सम्झौता भएपछि भवन निर्माण प्रक्रिया सुरु हुने उनले उल्लेख गरे।

मन्त्री पौडेलले भने, “अस्पतालको डिपिआर अनुसार रु छ सय करोडको लागत स्वीकृत भएर भारतको स्वास्थ्य मन्त्रालयमा गइसकेको छ । हामीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेका छौ।” मन्त्री पौडेलले अस्पताल स्तरोन्नतिको प्रक्रिया लाग्ने भएकाले त्यसअवधिसम्म जनरल हस्पिटल राम्रोसँग चलाउनुपर्ने बताए ।

स्वास्थ्य सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र सहज बनाउन इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा स्वास्थ्यकर्मीको रहेको छ।